काठमाडौं — लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।
उक्त रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा सुनुवाइ तोकिएको थियो ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार रिट दायर गरेका थिए ।
गत सोमबार विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । साथै उनीहरूले विशेष अधिवेशनको पनि माग गरेका थिए ।
त्यसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
योसँगै मुख्यमन्त्री पोखरेलको पद संकटमा परेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो १ बजे बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।
८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत आवश्यक पर्छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ सांसद छन् ।
बुधबारको रणनीति तयार गर्न विपक्षी गठबन्धनले सबै सांसदलाई एक रिसोर्टमा राखेको छ ।