लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ ।
उक्त विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्तावबारे छलफल गरेर मतदान गर्ने कार्यसूची छ ।
गत हप्ताको सोमबार विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । साथै उनीहरूले विशेष अधिवेशनको पनि माग गरेका थिए ।
त्यसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
यता, अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । उक्त रिट सर्वोच्च अदालतले मंगलबार हेर्न नभ्याइनेमा राखेको थियो ।
उक्त रिटमाथि अहिले सर्वोच्चमा सुनुवाइ हुँदैछ । उक्त रिटको सुनुवाइ न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासमा हुँदैछ ।
सर्वोच्चमा सुनुवाइ जारी हुँदा लुम्बिनीमा विशेष अधिवेशन सुरु हुनेछ ।
मुख्यमन्त्री पोखरेल सर्वोच्चको निर्णय पर्खँदैछन् । यसअघि बिहान बसेको मन्त्रिपरिषद् र एमाले संसदीय दल बैठकमा उनले अदालतको निर्णय पर्खँने बताएका थिए । सर्वोच्चले आफू अनुकुल फैसला नगरे राजीनामा दिने तयारी उनको छ ।
उनको पद संकटमा छ । ८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत आवश्यक पर्छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ सांसद छन् ।
यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरे । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।
यसैबीच मंगलबार बेलुकी भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएपछि अर्का दुई मन्त्रीले राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री पोखरेलको पद थप संकटमा परेको हो ।