नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त कुलमान घिसिङले आजै पदबहाली गर्ने भएका छन् ।
घिसिङलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आइपुगेको र घिसिङलाई नियुक्ति गर्ने प्रक्रिया थालिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । उनका अनुसार घिसिङलाई आजै पदबहाली गराउने तयारी छ ।
हाल बहालवाल प्रमुख कार्यकारी हितेन्द्रदेव शाक्यलाई भने उर्जा आयोगको विज्ञको जिम्मेवारी दिइएको छ । शाक्यलाई विशिष्ट श्रेणी सरह र खाइपाइ आएको सुविधा कटौती नहुने गरी उर्जा आयोगमा विज्ञका रूपमा पठाउने तयारी भएको प्रवक्ता भेटवालले बताए ।
चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सञ्चित घाटा रु २८ अर्ब रहेको प्राधिकरणलाई नाफामा लगेको र लोडसेडिङ पूर्ण रुपमा अन्त्य गरी उज्यालो नेपाल निर्माणका लागि योगदान गरेका कारण घिसिङलाई आम नेपालीले श्रद्धाका साथ हेर्ने गरेका छन् ।
दुरुहपूर्ण अवस्थामा पुगेको प्राधिकरणलाई सबल र सक्षम संस्थाका रुपमा विकास गरेको तथा रुग्ण भएका आयोजनालाई सम्पन्न गरेका कारण घिसिङलाई पुनः नियुक्तिको माग हुँदै आएको थियो ।