लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । उक्त विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्तावबारे छलफल गरेर मतदान गर्ने कार्यसूची थियो । तर, अल्पमतमा रहेका पोखरेलले बैठक नबस्दै राजीनामा दिएका हुन् । उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका हुन् ।
एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरे ।
यसअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा गर्ने वा अविश्वास प्रस्तावको सामना गर्ने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री पोखरेललाई नै दिने निर्णय गरेको थियो ।
अब विपक्षी गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्री बन्नेछन् ।
गत हप्ताको सोमबार विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।
८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत आवश्यक पर्छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ सांसद छन् ।
यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरे पनि प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्त गरे । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।
यसैबीच मंगलबार बेलुकी भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएपछि अर्का दुई मन्त्रीले राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री पोखरेलको पद थप संकटमा परेको थियो ।