काठमाडौं — नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका कुलमान घिसिङले बुधबार पदभार ग्रहण गरेका छन् ।
घिसिङले आज रत्नपार्कस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई प्राधिकरणका कर्मचारीले भव्य स्वागत गरे ।
यसअघि, उनले आजै नियुक्तिपत्र बुझेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उनले नियुक्तिपत्र लिएका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ ।
गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सञ्चित घाटा रु २८ अर्ब रहेको प्राधिकरणलाई नाफामा लगेको र लोडसेडिङ पूर्ण रुपमा अन्त्य गरी उज्यालो नेपाल निर्माणका लागि योगदान गरेका कारण घिसिङलाई आम नेपालीले श्रद्धाका साथ हेर्ने गरेका छन् ।
दुरुहपूर्ण अवस्थामा पुगेको प्राधिकरणलाई सबल र सक्षम संस्थाका रुपमा विकास गरेको तथा रुग्ण भएका आयोजनालाई सम्पन्न गरेका कारण घिसिङलाई पुनः नियुक्तिको माग हुँदै आएको थियो ।