लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा बुधबार स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन्
पोखरेलविरुद्ध दर्ता अविश्वास प्रस्तावमा छलफल गर्न बुधबार दिउँसो १ बजे बैठक बस्नुअघि नै मुख्यमन्त्री पदबाट उनले राजीनामा दिएका थिए ।
विपक्षी गठबन्धनले नेकपा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् । नयाँ सरकार गठनका लागि उनीहरूले छलफल सुरु गरेका छन् ।
एमाले नेता पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । गत वैशाखदेखि विपक्षी गठबन्धनले शंकर पोखरेललाई हटाउनका लागि दवाव दिँदै आएका थिए ।
विशेष अधिवेशन स्थगित
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन स्थगित भएको छ ।
विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभाले पाएपछि अधिवेशन स्थगित भएको हो ।
पोखरेलविरुद्ध दर्ता अविश्वास प्रस्तावमा छलफल गर्न बुधबार दिउँसो १ बजे बैठक बस्नुअघि नै मुख्यमन्त्री पदबाट उनले राजीनामा दिएका थिए । तर, उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।
अधिवेशनमा अविश्वासको प्रस्ताव पेश भएको थियो । त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो ।
सभामुख पूर्ण बहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै विशेष अधिवेशन स्थगित भएको छ ।