लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पुर्ववर्ती नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका छन्।
मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नयाँ सरकार आएपछि अघिल्लो सरकारको नीति तथा कार्यक्रम र बजेट संशोधन हुँदा अन्यथा नमान्नुपर्ने बताए। ‘नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ आउँछ, त्यसलाई अन्यथा लिनुपर्दैन’ उनले भने, ‘जुन पार्टीको संविधानको सर्वोच्चतालाई अपहेलना अध्यादेशबाट बजेट ल्यायो त्यसलाई स्वीकार्ने प्रश्नै हुन्न।’
केन्द्रमा ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्र्याकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीले बताए।
मुख्यमन्त्री केसीले सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने पनि बताएका छन्। ‘छिट्टै नियमित अधिवेशन बोलाउँछौँ, त्यसमा नियमित विधेयकहरु ल्याउँछौँ र सँगै विश्वासको मत पनि ल्याउँछौँ,’ उनले भने।
नेकपा एमालेका पुर्ववर्ती मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध लुम्बिनी प्रदेसभामा अविश्वासो प्रस्ताव दर्ता भएपछि उनले राजनीमा दिएका थिए। पोखरेलले राजीनामा दिएपछि माओवादी केन्द्रका नेता केसी बिहीबार लुम्बिनी प्रेदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले सत सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।