सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक शुक्रबार फेरि बसेको छ ।
बिहीबार देखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक आज पनि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा १४औं केन्द्रीय महाधिवेशनलगायतका विभिन्न विषयहरुमा छलफल भइरहेको बताइएको छ । साथै, बैठक महाधिवेशन समय सीमाभित्र सम्पन्न गर्ने विषयमा केन्द्रित छ ।
कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनको सन्दर्भमा साउन १२ र २५ गते हुने भनिएको वडा तथा गाउँ, नगरस्तरको अधिवेशन प्रभावित भइसकेको अवस्थामा केन्द्रीय महाधिवेशन पनि प्रभावित भइसकेको र केन्द्रीय महाधिवेशनको परिमार्जित कार्यतालिका तय गर्ने विषयमा छलफल केन्द्रीत रहनेछ ।
बैठकमा उपसभापति एवम् अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका विभिन्न प्रस्तावहरु प्रस्तुत गरिसकेका छन् ।
यसैगरी, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बैठकमा केन्द्रीय निर्वाचन समितिले प्रास्ताविक एवम् पारित गरेको निर्वाचन निर्देशिका कांग्रेसका केन्द्रीय सदस्यहरुद्धारा प्राप्त राय र सुझावका आधारमा पारित गरिनेछ ।