म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा उक्लने पदमार्ग निर्माण भएको छ। मुन्द्रा चढाउने डाँडाको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो।
भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराह गुफादेखि मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए। “मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार बनाएका हौँ”, उनले भने, “सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तव्य पहिचान गरेका छौँ।”
आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले विनियोजन गरेको रु दश लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताए। अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी तथा तेर्सो ठाउँमा माटो खनेर पदमार्ग बनाइएको छ।
पदमार्ग निर्माण भएपछि लडेर दुर्घटना हुने, बाटो अलमलिएर हराउने समस्या हटेको छ। झाडी हटाएर सरसफाइ गरिएको छ। मान्द्रेढुङ्गादेखि पाँच घण्टा पैदल हिँडेपछि मुन्द्रा चढाउने डाँडामा पुगिन्छ। पदमार्ग निर्माणका लागि करिब दुई महिना जङ्गलमै बास बसेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर कामीले बताए।
मजदूरलाई जङ्गलमै अस्थायी टहरा बनाएर राखिएको थियो। दैनिक ५० जनाको दरमा मजदूर परिचालन भएका थिए। मुन्द्रा चढाउने डाँडा समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ। यो बाटो भएर धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ।
यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजङ्गलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। खानेपानी, शौचालय र पाहुना आश्रयस्थलको आवश्यकता छ।
यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको रु सात लाख सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुङ्गादेखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ। उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर गर्बुजाले १४ जना युवाले एक महिनासम्म श्रम गरेर दुई किलोमिटर पदमार्ग बनाएको बताए।
पदमार्ग निर्माण भएपछि मान्द्रेढुङ्गा र ठूलोबगरका करिब १५० घरधुरीलाई आवतजावत गर्न सहज भएको छ। मान्द्रेढुङ्गाका बासिन्दालाई ठूलोबगर हुँदै गाउँपालिकाको केन्द्र पोखरेबगर र ठूलोबगरका बासिन्दालाई वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवतजावत गर्न सुविधा पुगेको हो।
यो गाउँपालिकाको केन्द्र पोखरेबगर र वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवतजावत गर्ने छोटो दूरीको पैदलमार्ग हो। अर्को वर्ष सिंगारेढुङ्गादेखि नागढुङ्गातर्फ जोड्ने पदमार्ग बनाएर योजनालाई पूर्णता दिने योजना रहेको वडाध्यक्ष फगामीले बताए।