जिन्दगी त एउटा जितविहीन खेल रहेछ
हिजो ठेला ठेल्ने बाको ढाड सर्केको देखिनँ
बुढी बिरामी आमाको बाँच्ने आशा पनि मर्केको हो,
त्यसैले त होला,
नम्र बोलिमा ती बुढा बाले दुईचार रुपैयाँ सापटी
माग्दा पनि आफन्त झर्केको
फेर्दा रहेछन् रंग केही आफन्हरुले पनि
आज यही मौका मिलेर नै हो
सायद यो अर्को रंग पनि देख्न पाएको
अनि ती बुढा बाको आफूजस्तै
बुढो ठेलाका ती उमेर ढल्केका
पैयाहरु चल्न रोकिए पछि नै हो
ती बुढी बिरामी आमाको जीवन नै रोकिएको
जीवनभर ती बुढा बाले, ताता घाममा, तातै शरीरबाट
बगाएका ती चिसा परिश्रमका पसिनाले जब ती मरणासन्न
आमाको घाँटी भिजाउनसम्म नपुगेपछि नै हो,
ती बुढी आमाले आफ्नो शरीर नै सकिने गरि तातो आगो तापेको
त्यसैले नै त हो ती बाले सोध्छन,
यी जितविहीन जीवनसँग कुन्ठाहरु
कि खुबसुरत थियो जिन्दगी मेरो पनि
तर यहाँ रहस्यहरु किन ढाकिन्छन् जिन्दगीका,
आकर्षणहरु किन छोपिन्छन् जिन्दगीका?
अनुपम सौन्दर्यहरु किन ओइलिन्छन् जिन्दगीका,
अनेक श्रृंगारहरु किन बिग्रिन्छन् जिन्दगीका,
रंगीन जीवनका रंगहरु किन यति चाँडै उजाडिन्छन्?
उनीसँगै जीवन रहेसम्म साथ दिने बाचाहरु
किन यत्ति चाँडै सकिन्छन् जिन्दगीका?
आफ्नो संसार देख्ने ती आँखाहरु
किन यति छिटै चिम्लिन्छन् जिन्दगीका?
नुहाई सकेपछि तेल लाइदिने
अनि मेरो आधिउधी बाँकी रहेका कपालसँग खेल्ने,
ती कोमल हातहरु किन खोसिन्छन् जिन्दगीका?
आज ती मेरा पाइलासँगै चाल्छु भन्ने पाइलाहरु अड्के पछि नै हो,
जिन्दगीको मेरो बाटो पनि भट्किएको
बाँच्ने आशा भट्केको अनि जीवनको मक्सद भट्केको
खै....
चेहरा सके पनि, साथ सकिए पनि
यादहरु भने किन सकिँदैनन् जिन्दगीका?
प्रश्नहरु भने कहिल्यै पनि थाकिँदैनन् जिन्दगीका
तर उत्तरहरु भने किन सधैँ थाकिन्छन् जिन्दगीका?
जिन्दगीका! यी मौनतालाई नबुझेपछि
बा लामो सुसेली हाल्दै फेरि पनि सोध्छन् प्रश्न जिन्दगीलाई,
कि ए जिन्दगी!....म पटक पटक गइरहेछु मलामी तेरो
अब त भन
अझै मैले कति पटक जानुपर्ने हो मलामी तेरो?
कतिऔँ पटकमा म अरु सबैभन्दा अग्रपंतिमा रहनेछु?
अनि ती मभन्दा पछि परेकाहरुले कयौँ फूलका गुच्चाले मेरा शरीरमाथी अनगिन्ती प्रहार गर्दा पनि मेरा शरिरलाई चोट लाग्ने छैन?
बाँचुन्जेल मेरा कानले सुन्न सम्म नपाएका
ती अनेक बखानहरुले खोज्दा पनि मेरो कान दुख्ने छैन
अनि बाँचुन्जेल मेरा भलो होला कि भनेर खुट्टा तान्ने हातहरु
आज मेरो आत्माले बैकुण्ठ बाँस होस भनेर प्रार्थनमा जोडिरहँदा,
ती हातहरुलाई मेरा आँखाले देख्न पाउने छैन?
अनि यो पनि भन कि...
मेरा सबै दोषहरुलाई पर.. राखेर
मेरा मैले नै थाहा नपाएका गुणहरु मात्र गाउँदा
अनि मलाई बाँचुन्जेल गरेको तिरस्कारलाई चटक्कै बिर्सेर
सम्मानका ती असीमित जटाराहरुले हान्दा पनि मेरो मन दुख्ने छैन?
खै के नै लिएँ मैले
जिन्दगी?
जिन्दगी सक्किगयो, मैसँगै हारिगयो
कि...कि....
यो जिन्दगी त जितविहीन खेल रहेछ
केबल जितविहीन खेल रहेछ....