जब म पढ्न भनेर काठमाडौंका निम्ति तयार भएँ
बाले भन्नुभयो; तँ बचपनमा मात्तिँदा मैले हप्काएर पिटेको नबिर्सेस्
तँलाई जिन्दगीका ऐयासीले नहप्काओस् भनेर नै मैले त्यो गरेको हुँ!
पढिनस् भनेर तँलाई ढोकाबाट भित्तामा पछारेको नबिर्सेस्
तँलाई जिन्दगीका चोटहरुले नपछारोस् भनेर त्यो गरेको हुँ!
र, यो पनि नबिर्सेस् तेरा लागि कति रात भोक भोकै सुत्न खोजेको,
तर चिन्ताले सुत्न नसकेको बाउ हुँ म!
हुन त नियतिले हारेको मान्छे म, सोच्दा–सोच्दै थाकेँ!
सोच्दा–सोच्दै थाकेँ छोरा...........
तर चिन्ता गर्छु कि तँलाई नियतिले नहराओस्!
मान्छे त आउने जाने गर्दै गर्छन्......
मधुभाषी बाका यी कहली
अनि मेरा झल्झली सपना बोकेर राजधानी छिरेको म
बिहान क्याम्पसका निम्ति बाटो धाउँदै गर्दा
सरकारको ठहर र कोरोनाको कहरले जब मेरो दैनिकी रोकियो
भक्कानो फुट्ने चोट अनि महामारी कोरोनाको चिन्ताले हकान्निएँ!
म मेरा सपनाहरुलाई जसोतसो टालटुल गरि
हरेक रातलाई कालीरात अनि दिनलाई पनि रात सरि
एकबाट दुई र दुईबाट चार गरि पार गर्न थालेँ,
तर मेरा हरेक सपनामा भविष्य देख्दै
हाँसिरहेका मेरा बुबा
जब दिनानु दिन डाँडाको वेल जस्तै
सुमधुरबाट मधुरतिर लम्कन थाले...!
र, मलाई सम्झना हुन थाल्यो कि,
तेरा लागि कति रात भोक भोकै सुत्न खोजेको
तर चिन्ताले सुत्न नसकेको बाउ हुँ म!