रुखलाई बिदाई नगरी झरेका पातहरु
जिते जस्तो गरि हारेका रातहरु
आकाशको उचाईबाट फेरि भुइँ स्वीकारेका ताराहरु
रुखलाई पालुवा भरेर ओइलाएका जराहरु
आउनुस् म छँदै छु नि.....
पुर्ण बिराम बिना सकिएका बातहरु
जिते जस्तो गरिरहेका साथहरु
अस्ताउनुमै उदाएको अनुभुत गर्ने कदमहरु
केवल एक पलको परिभाषामा समेटिएका हरदमहरु
धुन हराएर रङ्ग भर्न खोज्ने गितहरु
साउनको वर्षा जस्तै सिरानिलाई आत्मीयता दिरहेका शितहरु
फेरि,
एकचोटि हैन सधँैलाई हारेर
जितेजस्तो गर्नुछ
पोखिएर भरिए जस्तो गर्नुछ
आउनुस् म छँदै छु नि.......
जिते जस्तो गर्नलाई
जीए जस्तो गर्नलाई
आफूमा कोही रहेजस्तो गर्नलाई
केही रहे जस्तो गर्नलाई
आफू आफूमै भएजस्तो गर्नलाई
आउनुस् म छँदै छु नि......