आज मलाई बाहिर त्यति नसुनिने एउटा कथा सुनाउन मन छ,
बाहिर त्यति नसुनिए नि मर्म यसले हरेक घरको भन्छ,
काँधमा राखी आकाश छुवाउने मेरा बुबाले आज मलाई छुनै हुन्न रे
सधैँ मसँग खेल्ने मेरो सानो भाइ, दिदी कहाँ गई भनी खोज्दै हुन्छ रे
जीउ मेरो पुरै दुख्दा त्यो न्यानो घाममा म बस्न हुन्न रे
अँध्यारो कोठामा धुम्म बसी ठूलो स्वरमा हाँस्नु हुन्न रे
७, १०, १५ दिन कति हो यसरी बस्ने त्यो सबै पछि भन्ने रे
अहिलेलाई बस् मैले मेरो स्वतन्त्रताका दिनहरू गन्ने रे
हरेक महिना ४ दिन कसो गर्ने भनी गरुड पुराण पढ्ने रे
यी चार दिन कहिले नआओस् भनी अघि बढ्ने रे
महाशक्तिशाली यी चार दिनले दशैं पनि छेक्ने रे
बरु सके बेलैमा औषधि खाई यसलाई पछि धकेल्ने रे
भान्सामा गए अनिष्ट त्यहाँ त जानै हुन्न रे
प्यास लाग्दा पानी देखे आफँै सार्नु हुन्न रे
मेरो भाँडाकुँडा अब छुट्टै राखी छुट्टै माझ्ने रे
खानेकुरा परबाट भाडा समाई माग्ने रे
जन्मको आधार नै पाप भए जन्म अभिशाप हो
महिनावारीमा यसरी तर्काएर राख्नु आफ्नै कोखलाई श्राप हो
मासिक हाम्रो महिनावारी नभए संसार चल्दैन एकछिन
जुन रजस्वलाले हाम्रो जन्म भयो त्यसको मलाई अत्याचार किन?