आमा....
मैले अर्काे जन्म लिएँ
हो मैले पुनर्जन्म लिएँ
तिम्रो र बाबाको समागमबाट होइन
आफ्नै विद्रोहरुपी कोखबाट लिएँ
बाबाको वचन र तिम्रो मौनता सहन सकिनँ
त्यसैले मरेर पुनर्जन्म लिएँ
मेरो लिंग हेरेर अब रुने छैनन् कोही
न बाबा, न आमा
किनकि यो जीवनमा अब कसैको हक लाग्ने छैन
न छ अस्थित्व तिमीहरुको मेरो जिवनमा
अब म उभिँदै छु
तिमीहरुकै विरुद्ध
तिमीहरुको निकृष्ट सोचविरुद्ध
कुसंस्कारी समाजविरुद्ध
आमा......
अब म कमजोर छैन
पुनर्जन्ममा तिमी र तिम्रो परिवारको हण्डर खाएर
म निकै बलवान् भईसकेँ
मैले अथाह साहस बटुलिसकेँ
तिमी जस्ताको मौनता
र बाबाजस्ताको वाणरुपी वचन तोड्न सक्ने गरी
हो, लिंग भएकाहरुको अगाडि उभिने
आँट मैले बटुलिसकेँ
आमा......
मैले पुर्नजन्म लिएँ
तिमीसँग भएजस्तै लिंगको साथ लिएँ
तिमी जन्मे हुर्केकै समाजमा लिएँ
दाईजो नपुग्दा झुण्ड्याई मार्ने समाजमा लिएँ
फरक लिंग भएकाहरुसँग बोल्दा मात्र पनि
ज्युँदै जलाएर मार्ने समाजमा लिएँ
तर यो जन्म खेर फाल्ने छैन मैले
तिमी जसैगरि मौन बस्ने छैन म
किनकि अब म सहन सक्दिनँ
तिम्रा यस्ता बेकम्फुसे रिवाज
हो, म सक्दिनँ
मेरा ईच्छा आकांक्षा मारेर
तिम्रो रिवाजको पछि दौडिन्नँ
आमा....
तिमीलाई लाग्दो हो, तिमी बाँधिएकी छौ
मर्यादाको डोरिले कस्सिएकी छौ
कथित संस्कारको जंजिरले जकडिएकी छौ
तर, होईन मेरी आमा
तिमी आफ्नै कारणले रोकिएकी छौ
ए मेरी आमा.....
हेर्दै जाऊ
कसरी म मर्यादाको डोरी चुडाल्छु
हो, हेर्दै जाऊ
कसरी म कथित संस्कारको जंजिर टुक्रा–टुक्रा हुनेगरि छिनाल्छु
कसरी म लिंग नहेर्ने समाज बनाउँछु
हेर्दै जाऊ, बस हेर्दै जाऊ.........