म अछुत भएँ
किनकी म गरिबको कोखबाट जन्मिएँ
मेरा बा र आमालाई एक छाक पेटभरि खान
एक दिनभरि मालिकको खेतमा
नारेको गोरुजस्तै गरी जोतिनुपर्छ
मालिकले अञ्जुली जोडेर दिएको
मकैका दानालाई आमाले
एक अञ्जुलीभरि माया थपेर
फाटेको पटुकीको एक छेउमा पोको पारेर
आफू भोकै बसेर मेरो भोक मेटाउथिन्
त्यसैले म अछुत भएँ।
म यदि मालिकजस्तै धनी घरमा
जन्मिएको भए म कथित दलित हुनेथिइनँ
अहँ! म अछुत हुनेथिइनँ
हुने थियो
ठूलो घरभित्र साना–साना मनहरू
हुनेथियो खेतका ठूला–ठूला गरासँगै
साँघुरा भएका ससाना सोचहरू
र हुनेथियो ठूलो जातको पोगरी गुथेर
खुम्चिएको साना–साना मानसिकता
मसँग त्यसको ठ्याक्कै विपरीत छु
त्यसैले म अछुत भएँ।
खोलाको पानी र समाजको बानि उस्तै लाग्छ
कहिले धमिलिएर बग्छ
कहिले भेल, बाढी चल्छ
तर कहिल्यै उकालो बग्न सक्तैन
जस्तो कि जिम्वाल बाको सोच
जब शासकहरूले जात वर्ण व्यवस्था लागू गरे
हो म त्यसै दिनबाट अछुत भएँ्।