नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खडकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
शनिबार बालुवाटार पुगेर खडकाले प्रधानमन्त्री देउवालाई भेट गरेका छन् । सो क्रममा नेपाली क्रिकेट विकासको विषयमा कुराकानी भएको छ ।
भेटमा देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने आश्वासन दिएको पारसले बताएका छन् ।
दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता, नेपालीले कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई देउवाले धन्यवाद दिएका छन् ।
खडकाले अन्तर्राट्रिय क्रिकेटबाट साउन १९ गते सन्यास लिएका थिए । त्यसबारे देउवाले नेपाल र नेपालीको शिर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै पारसलाई शुभकामना दिएका छन् ।
उनले क्रिकेट विकासमा सरकारको साथ र सहयोग सधैं रहने बताएका छन् ।
खडका नेपाल क्रिकेट संघ (क्यानमा) आउने तयारीमा छन् । त्यसकारण उनले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।
यसअघि गत बिहीबार सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग पारसले भेट गरेका थिए ।