कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक कान्द्रा नदीले बगाएको छ। बिहिबार रातीदेखि परेको भारी वर्षासंगै आएको बाढीले सो सडक बगाएको हो।
तराईको आर्थिक समृद्धिका लागि भन्दै आर्थिक वर्ष ०६६/०६७ मा निर्माण सुरु भएको हुलाकी सडक आयोजना अन्र्तगतको सो सडक कान्द्रा नदीको बहावले बगाएको हो।
स्थानीय बाधुराम चौधरीले हुलाकी सडक बगाएपछि वैकल्पिक बाटो प्रयोग गरिरहेका बताए। ‘यो सडकबाट हिड्दा छोटो हुन्थ्यो बगाएको सडक देखाउँदै’ बाधुरामले भने, ‘अहिले घुमेर लामो बाटो प्रयोग गरेर जानुपर्ने बाँध्यता छ।’
उनले नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको बताए। ‘हरेक वर्ष नदीले धार परिवर्तन गरिरहेको छ। हुलाकी सडक शुरुमा केही कटान भइरहदा समेत तटबन्धन लगायतका कुनै प्रयास गरिएन्’ उनले भने, ‘समयमा सम्बन्धित निकायबाट तटबन्धन गरिएको भए नदीले सडकमा क्षति पु¥याउँदैनथ्यो।’
सडक बगाएको स्थानमा भेटिएकी स्थानीय लक्ष्मी चौधरीले भनिन्, ‘सरकारले बनाएको सडक बग्यो। अब हाम्रा घरखेत पनि बग्छन।’ सो क्षेत्रमा एक सय मिटर बढी सडक बगाउँदा स्थानीयहरुले खेतको आलीबाट हिड्डुल गरिरहको उनले बताइन्।
भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो। ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो को काम अघि बढ्न सकेको थिएन।
अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा काम अघि बढाइएको छ । यस्तै, धनगढी उपमहानगरपालिका–१४ ‘बि’ गाउँमा रहेको हुलाकी सडक र रिङ्ग रोड जोड्ने सडकमा रहेको कल्भर्ट समेत बाढीले बगाएको छ।
कल्भर्ट भत्किएपछि फूलबारीका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। विगत तीन वर्षदेखि जिर्ण अवस्थामा रहेको कलभर्ट जनप्रतिनिधिले पुनःनिर्माणमा ध्यान नदिदा भत्किएको स्थानीयहरुको आरोप छ।