गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले जिल्लामा धेरै भौतिक क्षति भएको छ। यहाँका अधिकांश बस्ती विस्थापित भएका छन्।
बाढीपहिराका कारण प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएको छ। बाढीपहिराले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीको भवन बगाएपछि पूर्णरुपमा सो चौकी विस्थापित भएको छ। बाढीपहिराले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरीचौकी धारापानीका इञ्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिए।
जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उनले बताए। साथै भवनमा रहेका अन्न, खाद्यान्नलगायतका विभिन्न सामग्री भने जोगाउन नसकिएको उनी बताउछन्। अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए।
मस्र्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पुर्याएको छ। केही कार्यालय भौतिक संरचनामा क्षति पुगेपछि विस्थापित भएका थिए। लमजुङ बेँसीशहर–चामे सडक पूर्ण रुपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ।