मकवानपुरको पुरानो सदरमुकामसमेत रहेको भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ। रु चार करोड २२ लाख २७ हजार लागतमा निर्मित ४२ कोठे भवनको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे।
प्रदेश सरकारले भीमफेदी गाउँपालिकामा मात्रै ६ वटा खानेपानीका योजनासहित खेल मैदान, सडक, पुलजस्ता ५४ वटा योजनालाई चालू आवमा बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री पौडेलले भीमफेदीको ऐतिहासिकताको संरक्षण गर्ने योजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला, बहुप्राविधिक विद्यालय, पाउडर दूधको उद्योग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता महत्वपूर्ण योजना स्थापना गर्न भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरे।
गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफूहरू मुख्यमन्त्री पौडेलको विकास नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको बताए। उनले गाउँपालिकाको समग्र विकासका लागि आफूहरूले काम गरेको बताउँदै गाउँपालिकाको विकास योजनालाई सार्थक बनाउन प्रदेश सरकारले सहयोग गरेको जानकारी दिए।
गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले गाउँपालिकाले जनचाहनाअनुसार काम गरेको र कार्यसम्पादनमा कहिलै कञ्जुस्याई नगरिएको बताए।