काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिने सम्भावना रहेको स्रोतको दाबी छ ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् ।
अहिले दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०÷४० प्रतिशत हिस्सा चाहिने प्रावधान छ ।
४० प्रतिशत संख्या नपुगेपछि एमालेमा नेपाल समूह संकटमा छ । दल विभाजनसम्बन्धी यो प्रावधानलाई अध्यादेशमार्फत संशोधन गर्दै ‘र’ को ठाउँमा ‘वा’ तथा चाहिने प्रतिशत पनि उल्लेख्य घटाइने तयारी छ ।
सम्बन्धित समाचारः नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याउँदै प्रधानमन्त्री देउवा
स्रोतका अनुसार केन्द्रीय समिति वा संसदीय दल जहाँ भए पनि २५ प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न पाउने गरी सरकारले राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्न लागेको हो ।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवाले नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेतासँग पनि छलफल गरेका थिए ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर पक्ष दलबिहीन अवस्थामा छ ।प्रधानमन्त्री देउवासँगको भेटमा ठाकुरले आफूहरुलाई समेत सजिलो हुने गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेको स्रोतले बताएको छ ।