केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश ल्याएको हो ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०/४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियाे ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले हाल दलविहीन रहेका नेता महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्नेछ ।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवाले नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेतासँग पनि छलफल गरेका थिए ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर पक्ष दलबिहीन अवस्थामा छ । प्रधानमन्त्री देउवासँगको भेटमा ठाकुरले आफूहरुलाई समेत सजिलो हुने गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेको स्रोतले बताएको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।
सम्बिन्धत समाचारः नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याउँदै प्रधानमन्त्री देउवा