काठमाडौं — सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अनेरास्ववियुले विरोध जुलुस निकाल्ने भएको छ ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरले सरकारले ल्याएको जनवरोधी लोकतन्त्र विरोधी र दलीय व्यव्स्थाविरुद्धको राजनितिक दल सम्बन्धी अध्यादेशको विरुद्धमा आज ५ बजे भृकुटीमण्डपबाट विरोध जुलुस निकाल्ने जानकारी दिएका छन् ।
उनले देशैभरी विरोध गर्न मातहत जिल्ला कमिटिहरुलाई निर्देशन दिएका छन् ।
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०÷४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले हाल दलविहीन रहेका नेता महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्नेछ ।
सरकारले अध्यादेश ल्याएपछि नेपाल पक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको छ ।