गैरकानुनी रुपमा प्रवाह गरेको ऋणका कारण काठमाडौं डिल्लीबजारस्थित गोर्खाज फाइनान्स लिमिटेड विवादमा मुछिएको छ।
२०७८ असार ११ गते शुक्रबार नियम मिचेर ताराचन्द्र बजगाईंको नाममा ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेपछि गोर्खाजको केन्द्रीय कार्यालय विवादमा मुछिएको हो। नियम मिचेर गैरकानुनी रुपमा ३ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको जानकारी पाएपछि गोर्खाजलाई नेपाल राष्ट्र बैंकले समेत चिठी काटेर सो कर्जाको फाइल मगाएको छ।
‘यस विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ,’ नेपाल राष्ट्र बैंक वित्त कम्पनी सुपरिवेक्षण विभागका उपनिर्देशक कमल तामाङले भने, ‘निर्णय भने हुन बाँकी छ।’
‘नियमअनुसार त्यति ठूलो रकम बिनाधितो कर्जा दिन पाइदैँन,’ राष्ट्र बैंक श्रोतले भन्यो, ‘केही बदमासी र चलखेल भएको शंका लागेर अनुसन्धानको लागि फाइल मगाइएको हो।’
गोर्खाजको यो फाइल अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा समेत पुगेको छ। सिआइबिले समेत यसमा अनुसन्धान गरिरहेको छ।
श्रोतका अनुसार बजगाईंको नाममा जारी भएको कर्जा दिक्षान्त बाँनियाको नाममा दर्ता रहेको ‘बि एन एस होल्डिङ’ कम्पनीको नाममा रकमान्तरण गरी बानियाँकै नाममा नगद भुक्तानी लिएको देखिन्छ। श्रोतले भन्यो, ‘बानियाँको नाममा ५ वटा चेक काटेर रकम निकालिएको देखिन्छ।’
कर्जा प्रवाह गर्ने क्रममा समेत गोर्खाजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाल बहादुर थिङ र सह–महाप्रवन्धक सन्तोष कुमार घिमीरेको मिलोमतोमा कर्जा प्रवाह गरिएको श्रोतले जानकारी दियो। ‘बेलुकी ५ बजे सबै कर्मचारी निस्किसकेपछि कर्जा निकासा गरिएको हो,’ श्रोतले भन्यो।
यता गोर्खाजका सह–महाप्रवन्धक घिमिरे भने नियमअनुसार नै कर्जा प्रवाह गरिएको दाबी गर्छन्। ‘प्रकृया पुरा गरेर नै कर्जा दिएका हौँ,’ उनले नेपाली पब्लिकसँग भने, ‘त्यो कर्जा चुक्ता भइसक्यो, यो खासै ठूलो विषय होइन।’
राष्ट्र बैंकको नियमअनुसार क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाले धितो राखेर नै ५० लाख रुपैयाँभन्दा बढी रकम व्यक्तिगत कर्जाको रुपमा प्रवाह गर्न मिल्दैन। यस्तै बिनाधितो १५ लाखसम्म मात्र कर्जा प्रवाह गर्न मिल्छ।
त्यसको लागि पनि सञ्चालक समितिको कार्यविधी नै बनेको हुन्छ। त्यही कार्यविधिमा उल्लेख भएका कागजातहरुको आधारमा मात्र कर्जा प्रवाह गर्नुपर्ने हुन्छ।