खोल्सीको कालो सुनका रुपमा परिचित नगदेबाली अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका छन्। छिर्के, फुर्के र जुरजुरे रोगका कारण अलैँची मासिन थालेपछि किसानहरु चिन्तित भएका हुन्।
मकैबारी मासेर अलैँची लगाएका किसान बाली नै मासिन थालेपछि समस्यामा परेका छन्। विभिन्न रोगका कारण मासिएर पुनः बचेको अलैँची अर्को पटक फेरि जोखिममा परेको किसानको भनाइ छ। डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडाको भनाइ छ।
जुरजुरे रोगका कारण मासिएर शून्य जस्तै भएको अलैँची पुनः जाग्दै गएको भए पनि हाल पुनः मर्न थालेको किसान खतिवडाको भनाइ छ। रोगका कारण एकपटक मासिएको अलैँची बाली पुनः जोखिममा परेको छ। छिर्के, फुर्के जस्ता रोगका कारण बालीमा डढुवा लागेझैँ भएको र अलैँची बाली मासिने क्रम बढेपछि किसानले वैकल्पिक बाली लगाउन थालेका छन्।
अलैँची मासिने क्रम बढेसँगै मूल्य भने बढ्ने क्रममा छ। दुई वर्षअगाडि इलामको देउमाई नगरमा अलैँची बालीका लागि ब्लक कार्यक्रम सञ्चालन भयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यक्रम सम्पन्न भएपछि अलैँचीको विस्तार भयो तर अहिले भने डढुवा रोग र समयमा बर्सात नहुँदा अलैँची मासिने क्रममा छ।
सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ। सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिका क्षेत्रमा समेत अलैँची बाली मासिने क्रममा छ। किसानले अलैँची बाली मासिन थालेपछि वैकल्पिक नगदेबाली लगाउन थालेका छन्। अलैँची उत्पादन घट्दै गएपछि मूल्य भने प्रतिमन ३० हजारभन्दा माथिसम्म पुगेको छ।
हाल किसानले मासिएको अलैँची बारीमा घाँसलगायत अन्य कृषिजन्य वस्तु लगाउन थालेका छन्। अन्य बाली लगाउनु पर्दा किसानमा निराशा छाएको देउमाई कृषि सहकारी सङ्घ मङ्गलबारेका देउकुमार रानाले बताए। गत वर्ष जिल्लामा पाँच सय ७६ मेट्रिक टन अलैँची उत्पादन भएकामा यो वर्ष उत्पादन र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
एक हजार ६ सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको भए पनि ढुसीजन्य रोग, डढुवा र प्रतिकूल मौसमका कारण अलैँची बगान मासिँदै गएको छ।