नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पु¥याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ।
भारतमा चोरी गरी ल्याइएको एक किलोभन्दा बढी सुन र रु १० लाख नगद रकम डोटी प्रहरीले बरामद गरेको घटनाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले आज एक विज्ञप्तिमार्फत विधि र प्रक्रिया अबलम्वन गरी भारतमा बुझाइएको जनाएको छ।
“उक्त बरामद सुन र नगद डोटी प्रहरीले प्रहरी प्रधान कार्यालय र भारतीय दूतावासका प्रतिनिधिको समन्वय र रोहवरमा कूटनीतिक कार्यविधि र प्रक्रिया पूरा गरी इन्टरपोल शाखामार्फत पीडितको अक्तियारनामा लिई कानूनबमोजिम आवश्यक कारबाहीका लागि दिल्लीको नेशनल सेन्ट्रल ब्यूरोका अधिकारिक प्रतिनिधिलाई जिम्मा लगाएको ब्यहोरा जानकारी गराइन्छ”, प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमार्फत प्रहरीले नेपाल प्रहरीको शाख र छविमा आँच पु¥याउने किसिमका गतिविधिको भ्रममा नपर्न पनि अनुरोध गरेको छ। केही महिनाअघि प्रहरीले डोटीबाट नगद रु १० लाख र एक हजार १०० ग्राम सुन बरामद गरेकोे थियो।
उक्त सुन र नगद भारतबाट चोरी गरी ल्याइएको र स्वयं पीडितपक्ष नै प्रमाणसहित नेपाल आएपछि कूटनीतिक माध्यमबाट कानूनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सुन र नगद भारतको प्रहरी अधिकारीलाई बुझाइएको प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।