बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन) ले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिले जनअपेक्षालाई सम्बोधन गरेको भन्दै प्रसन्नता व्यक्त गरेको छ।
कोभिड–१९ को सङ्क्रमण र बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट उत्पन्न समस्याको न्यूनीकरण, जनअपेक्षाको सम्बोधन र विषम् परिस्थितिबाट सङ्कुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशील बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका मौद्रिक नीति केन्द्रित भएको टिप्पणी गरेको छ।
मौद्रिक नीति समग्रतामा सकारात्मक र सन्तुलितरुपमा आएको सिविफिनले ठहर गरेको छ । मुलुकको विषम परिस्थितिका आवश्यकतामाथि केन्द्रित भई अबलम्वन गरेका कार्यदिशा र नीतिले विगतमा जस्तै सुखद् र सकारात्मक परिणाम दिनेमा सिविफिन विश्वस्त रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ।
मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षबाट प्राप्त भएका सुझावको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गरेको भन्दै सिविफिनले प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेको छ।