के तपाईले आफ्ना घर अगाडी के कुरा राख्ने के नराख्ने भन्नेबारेमा कहिल्यै हेक्का राख्नुभएको छ? हामीले जानेर वा नजानेर गरेका यी यस्ता क्रियाकलापले हाम्रो प्रगतिमा समेत वाधा पुर्याइरहेको हुन्छ ।
तपाईले भन्नुहोला घरभित्रको सबै कुरा वास्तुशास्त्र अनुसार नै छ।
तर त्यसो होईन।
हामीले घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन्। वास्तु जानकार भन्छन्, ‘वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन्।’
वास्तुदोषको कारणले शारीरिक कष्ट, आर्थिक व्ययभार , पारिवारिक सम्बन्धमा दरार, परिवारका सदस्यबीच मनमुटाव, अशान्ति निम्त्याउने गर्दछ।
कतिपय अवस्थामा वास्तुदोषकै कारण मानसिक समस्या समेत निम्तन्छ। के हुन् त ति १० कुरा जुन घर आसपासमा हुँनुहुँदैन।
१. पानी जम्ने स्थान : हुन त यो विषय तपाईले जग्गा खरिद गर्दा नै ध्यान पुर्याउनुपर्छ तर घर बनाईसक्नुभएको छ तर घर अगाडी फोहोर पानी जम्ने स्थान छ भने त्यसलाई तत्काल हटाउनुहोस्। पानी जम्ने भाग घरको पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने कारणले यस्तो कुरामा विचार पुर्याउनुपर्छ।
२. काँडेतार : यदी घर अगाडी काँडेतार र काँडाभएको बिरुवा लगाउनुभएको छ भने त्यो वास्तुसम्वत् छैन। यसो हुँदा नकारात्मक शक्ति प्रसार हुनसक्छ। तपाईंका विरोधीको संख्या बढ्ने संभावना रहन्छ। काँडा भएका विरुवाका कारण पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ।
३. ढुंगा : घर अगाडी लामो समयसम्म ढुंगा जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ। कुनै काम विशेषका लागि ढुंगा ल्याउनुभएको छ भने तत्काल काम सकि त्यो ढुंगा पन्छाउनुहोस्। वास्तु विज्ञान अनुसार यसरी असरल्ल र भद्रगोल पारेर राख्दा जीवनमा हुने प्रगति रोक्छ।
४. फोहोर थुपार्न/ डस्टविन : आफ्नो घर अघि अग्रभागमा कहिलयै डस्टबिन देखिने गरी राख्नुहुँदैन। वास्तु विज्ञान अनुसार यसो गर्दा जीवन कष्टप्रद हुन्छ।
५. बिजुलीको खम्बा : घरको मुख्यद्धारको सम्मुखमा वा घरबाट बाहिर निँस्कदा बिजुलीको खम्बा देखिन्छ भने त्यो अशुभ हुन्छ। यस्तो हुनुलाई वास्तुशास्त्रमा उन्नतिको बाधक मानिन्छ।
६. रुख : घर अगाडी बाक्लो रुखहरु हुनु वा उजाड रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ। अझ घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ। उजाडिएको रुखले वितृष्णा उत्पन्न गराउनुको साथै मनोबल गिराउँछ।
७. सडक : वास्तुविज्ञान अनुसार घरको दलानभन्दा घरबाहिरको सडक अग्लो हुनु कष्टकारी मानिन्छ। यसो हुँदा भय, त्रास बढ्छ।
८. सेतो चोप निस्कने रुख : वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ। तर श्वेटार्क राख्नु शुभ मानिन्छ। नेपाली समाजमा अलि नौलो नाम हो श्वेटार्क। छिटफूट रुपमा कसैको घरमा देखिएपनि प्रायजसो नर्सरीमा यो विरुवा पाईँदैन। गणेशको प्रतीक मानिने यो दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ।
यसका साथै घरमा मनी प्लान्ट, मनी ट्री , शमी रूख, अश्वगन्धा बोट, श्वेटार्क हुनु राम्रो मानिन्छ। यी बोटविरुवा घरैभित्र रोप्दा पनि लाभदायक मानिन्छ।
९. जुत्ताचप्पल : घरअगाडी वा तपाईको घरमा प्रवेश गर्ने स्थानमा जुत्ताचप्पल राखिएको छ भने त्यो पनि अशुभ हुन्छ भनिएको छ। त्यसैले घरको मूलढोका अगाडी जुत्ताचप्पल नराख्नुहोस्।
१०. लुगा सुकाउने /डोरी : घर अगाडीको स्थामा लुगा सुकाउने गर्नु वा डोरी टाँग्नु वास्तुअनुसार राम्रो मानिन्न। सुख शान्ति र समृद्धिका लागि यि कार्य नगर्नु नै बेश हुन्छ।