काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषद्ले मंगलवार पारित गरेर सिफारिश गरेको अध्यादेश जारी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०÷४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले हाल दलविहीन रहेका नेता महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्नेछ ।
उक्त निर्णयको सत्तारुढ दल नेपाली कांग्रेस र एमाले वरिष्ठ नेता माधव पक्षमै विरोध भएको छ । तर, अध्यादेशको सत्तारुढ दल कांग्रेस र एमाले वरिष्ठ नेता माधव पक्षभित्रै विरोध भए पनि माओवादी केन्द्र र जसपाका नेताहरुले केही प्रतिक्रिया दिएका छैनन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।