राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष दल दर्ताको तयारीमा जुटेको छ ।
नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य बानेश्वरको अर्याल होटलमा जम्मा भइसकेका छन् । अहिलेसम्म ५७ जना बढी केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ ।
राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपाल बैठकस्थलामा आएका छन् । उनी आएसँगै निर्णायक बैठक शुरू भएको छ ।
नेपाल निकट स्रोतका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको छ । चुनाव चिह्न कलम, हँसिया हथौडा वा कुनै रूपमा सूर्यको विकल्पमा छलफल भइरहेको छ ।
अध्यादेश
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०÷४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले हाल दलविहीन रहेका नेता महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्नेछ ।
अध्यादेशको सर्वत्र विरोभ भइरहेको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।