नयाँ दल दर्ताका लागि नेता महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ ।
उक्त पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक आयोगमा दर्ता गर्दैछ । पार्टीको चुनाव चिह्न साइकल हुनेछ ।
ठाकुर पक्षका नेता राजेन्द्र महतोले आफूहरुको पक्षमा रेशम चौधरीसहित १५ सांसद रहेको दाबी गरेका छन् ।
नयाँ पार्टीमा ठाकुरसँगै महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, उमाशंकर अरगरिया, एकवाल मियाँ, निर्जला राउत विमल श्रीवास्तव, शेखर सिंह, चन्दा चौधरीलगायत छन् ।
ठाकुर पक्षले अब एकल अध्यक्ष प्रणालीमा नयाँ पार्टी दर्ता गर्ने विधान तयारी गरेको छ ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । त्यसपछि ठाकुर, नेता महतोलगायत पार्टीमा साधारण सदस्य मात्रै रहेका थिए ।
अध्यादेश तरंग
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
यसअघि दल सम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०÷४० प्रतिशत हिस्सा चाहिने प्रावधान थियो ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका हुन् । यो अध्यादेशले दलविहीन रहेका नेता ठाकुर पक्षलाई समेत राहत मिलेको छ ।
तर, अध्यादेशको सर्वत्र विरोध भइरहेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दल विभाजनलाई खुकुलो पार्ने अध्यादेश पेस गरेका थिए । यसको चौतर्फी आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।
अध्यादेश आएसँगै एमाले पार्टी पनि फुटेको छ ।
सम्बन्धित समाचारः अन्ततः फुट्यो एमाले, नयाँ पार्टीको नाम र चुनाव चिह्न के ?