जनकपुरधाम — प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार पदभार ग्रहण गरेका छन् ।
प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
मंगलबार अपराह्न संघीय राजधानी काठमाडौंस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका मिश्र प्रदेश प्रमुखको कार्यभार सम्हाल्न बुधबार मध्याह्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आएका थिए ।
प्रदेश प्रमुख मिश्रले प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए । अहिलेको समयमा शान्ति, स्थिरता र अमनचयन आवश्यक भएको उल्लेख गर्दै उनले अब आफू अमुक पार्टीका व्यक्ति नभएर देश र जनताका मानिस भएको प्रस्ट पारे ।
प्रदेश प्रमुख मिश्रले आजै मधेस भवन परिसरमा रहेको नेपाली कांग्रेसका दिवंगत नेता रामनारायण मिश्रको शालिकमा माल्यापर्ण गरे ।
२०१६ सालको बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारमा स्व.मिश्र उद्योग तथा वाणिज्य मन्त्री थिए । मधेस भवन नामकरण गरिएको जनकपुर चुरोट कारखाना लिमिटेड स्थापनामा स्व.मिश्रको योगदान अतुल्य मानिन्छ । प्रदेश प्रमुख मिश्र स्व.रामनारायणका छोरा हुन् ।