भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो । कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो । बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ । अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयारी नहुँदा कोभिड बिरामीको उपचारमा समस्या भएको थियो । अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित गरेर राखेपछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने जिल्ला अस्पतालका प्रमुख डाँ वशन्तराज जोशीले बताए ।