नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको, एउटा चोइटो उछिट्टिएको टिप्पणी गरेका छन् । एमाले विभाजित भएको भोलिपल्ट प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो । एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो ।’
ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा नभएको समेत बताए । उनले एकै ठाउँ आउन नसक्ने चुम्बकका दूई ध्रुव ल्याइएको भन्दै बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरे ।
उनले भने, ‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन् । यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ । बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ । बलका अघि कुनै बन्धनको केही लाग्दैन । नेपाललाई छुटाउने गरीको तागत लागेपछि उनको केही नलागेर फुटाएका हुन् ।’
आफूले एकताबद्ध राख्न अनेक कोशिस गर्दा पनि पार्टी फुटेको उनको दाबी थियो । उनले आफूले ५१ वर्षअघिबाट पार्टी एकता गर्न सुरु गरेर नेकपासम्म बनाएको जिकिर गरे ।
‘मैले नेपालाई भेट्छु भनेर आफैं कुरा गरें । उनले भट्दिनँ भने । गत दुई वर्षमा उनले एउटा फोन गरेका छैनन्। प्रधानमन्त्रीकोमा आउँदिनँ भन्दा उनले भनेको ठाउँमा पुगेको छु,’ उनले थपे ।
उनले अहिले मात्रै होइन, सुरुदेखि नै आफू पार्टी एक बनाउन लागिरहेको दाबी गरे । उनको भनाइ थियो, ‘पार्टी एकताबद्ध राख्ने कोशिसै गरेन भन्ने कुरा सही होइन, ५१ वर्षअघि जति कम्युनिष्ट पार्र्टी ससाना टुक्रामा थियो । पार्टी जस्तो एउटा पनि पार्टी थिएन । त्यही बेला एकताको आन्दोलन सुरु गरेको थिएँ ।’
उनले एमालेमा अन्तरकलह नभइ नेपालको निहुँ खोजाइ मात्रै भएको समेत दाबी गरे ।