हरेक समस्याको मुल कारण अस्वस्थता हो भन्ने मुल अवधारणामा बनेको टेलिसिरियल हो जीवन चक्र। त्यसैले, जीवन चक्र देशका सबै क्षेत्रमा पुगेर स्वास्थ्यका गम्भीर र जड विषयहरुलाई उठान गरेर सोधिरहेको छ– तपाईं स्वस्थ हुनुहुन्छ?
देशका हरेक क्षेत्रमा पुग्ने क्रममा जीवन चक्र सबैभन्दा पहिला कर्णाली भेगमा पुगेको छ। कर्णाली क्षेत्रको मुगु जिल्लाको एक दुर्गम गाउँमा केन्द्रित भएर जीवन चक्रले केही भागहरु छायांकन गरेको छ। कर्णाली क्षेत्रमा गरिएको छायांकनलाई कर्णाली सिरिज नाम दिइएको छ।
यसमा अभिनय पनि त्यहीका गाउँलेहरुले गरेका छन्। स्वास्थ्यचौकीमा भूत बस्छ भन्ने जनविश्वासका कारण बन्द भएको स्वास्थ्यचौकी खोल्न गाउँ पुगेका स्वास्थ्कर्मीको भूमिका विशाल पोखरेलले निभाएका छन्।
कर्णाली सिरिजपछि स्वास्थ्यका गम्भीर र जड विषयको उठान गर्न जीवन चक्र अब सुदुरपश्चिम पुग्नेछ। सुदुरपश्चिमपछि मधेश र अन्तिममा शहर पुग्नेछ। सुदुरपश्चिम र मधेशमा गरिएको छायांकनलाई क्रमश सुदुरपश्चिम सिरिज र शहर सिरिज दिइनेछ।
कर्णाली सिरिजका भागहरु अहिले हरेक आइतबार साँझ ७ः२५ बजे नेपाल टेलिभिजनमार्फत प्रशारण भइरहेका छन्।
युनिसेफले स्वास्थ्य जनसंख्या मन्त्रालयको सहकार्यमा हरेक वर्ष निर्माण गर्दै आइरहेको जीवन चक्रको यसपालिको संस्करण मनोज पन्डितको लेखन तथा निर्देशनमा निर्माण भइरहेको छ भने व्यवस्थापनमा अल थ्री मिडिया घरले प्राविधिक व्यवस्थापन गरिरहेको छ।
‘जीवन चक्र त्यस्तो मन्त्र हो जसले मानव समाजको अधिकांश समस्या समाधान गर्न मार्गदर्शन गर्छ। यो सिरिज त्यो चेतनालाई आत्मसाथ गर्नका लागि हेर्ने हो। किनकी हामी अनेकौँ समस्याहरुबाट ग्रसित छौँ,’ मनोरञ्जनका अनेकौँ विकल्प उपलब्ध भइरहेको अवस्थामा यो नयाँ संस्करणको जीवन चक्र नेपाली दर्शकले किन हेर्ने भन्ने प्रश्नमा निर्देशक पन्डित भन्छन्, ‘मनोरञ्जन गर्नु मात्रै मुल कुरो होइन, चेतनाको विकास ठूलो कुरो हो तर त्यसो भन्दैमा मनोरञ्जनलाई बेवास्ता गरिएको छैन। सिर्जनशील मनोरञ्जनलाई हामीले महत्व दिएका छा।’
‘के तापाईं स्वस्थ हुनुहुन्छ?’ भन्ने आफ्नो मुल मन्त्र बनाएको जीवन चक्रका लागि अध्ययन अनुसन्धान गर्दै जाँदा समाजमा पूर्ण स्वस्थ मानिस भेटाउन गाह्रो भएको अनुभव सुनाउँदै निर्देशक पन्डित भन्छन्, ‘हामी सबै अस्वस्थ छौँ। भौतिक स्वास्थ्यको लागि केही पहल भएपनि मानसिक स्वास्थ्यमा हामी सबैको ध्यानाकर्षण पुगेको छैन।’
जीवन चक्रले यही एउटा तथ्य स्थापित मात्र गर्न सक्यो भने आफ्नो अथक र इमान्दार प्रयत्न सार्थक हुने उनी बताउँछन्।
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको जीवन चक्रको छायांकन डोर बहादुर कटुवाल, सम्पादन सन्तोष दवाडी र संगीत पुष्कर महतो गरेका हुन्।