पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ।
१० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन्।
आज २६ जना थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्य १० हजार ४५५ पुगेको छ।
मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै संस्थागत आइसोलेसनमा रहेका ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ८९८ जना काठमाडौं उपत्यकाका हुन्।