रुपन्देहीको सैनामैना नगरपालिकामा आजदेखि पुनः गाउँ ब्लक जग्गाको नापजाँच सुरु भएको छ। सैनामैना नगरपालिका र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको नापी विभाग रुपन्देहीको सहकार्यमा नगरपालिकाको वडा नं ५ बुद्धनगरबाट नापजाँच सुरु भएको हो।
जग्गा नापजाँचको शुभारम्भ गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले साविक दुधराक्ष गाबिस र हालको वडा नं ५, ६, ७, ८ र ९ का सम्पूर्ण पुराना थारु समुदायका गाउँ बस्तीहरुमा रहेका गाउँ ब्लक (डि–ब्लक) जग्गाहरुको नापजाँच सुरु गरिएको बताए। उनले जग्गा आवासका लागि योग्य भएको र सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको बताए। जग्गाको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरी तीव्र रुपमा काम गरिने प्रमुख कार्कीले बताए।
साविक पर्रोहा र सालझण्डीमा रहेका गाउँ ब्लक जग्गा मापनको काम यसअघि नै सम्पन्न भइसकेको बताउँदै कार्कीले साविक दुधराक्ष गाविसमा प्राविधिक कारणले केही ढिला हुन पुगेको उल्लेख गरे। उनले दुई महिना भित्रमा वडा नं ५, ६ ८ र ९ को पूर्व पश्चिम राजमार्गको उत्तर भेगमा पर्ने गाउँ ब्लकहरुको जग्गा नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमार्ण पूर्जा वितरण गरिने बताए। नगरपालिकाका अनुसार करिब दुई महिनामा राजमार्गदेखि दक्षिणतर्फ पर्ने गाउँ ब्लक जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा उपलब्ध गराइने छ।
नापी विभाग रुपन्देही प्रमुख अजित कुँवरले रुपन्देहीमा गतवर्षको एक हजार ३५० गाउँ ब्लक जग्गामध्ये एक सय गाउँ ब्लक जग्गाको काम भइरहेको बताए। उनले विशेषगरी दक्षिण भेगतर्फ गाउँ ब्लक जग्गाको नापजाँचको काम जनशक्तिको अभावका कारण हुन नसकेकोे उल्लेख गरे। कुँवरले सैनामैनामा वितरण गर्न बाँकी रहेको साविक दुधराक्षको ३७ विघा १२ कठ्ठा ६ धुर जग्गाको पूर्जा वितरणका लागि नगरपालिकाको पहलमा नापी विभागले काम सुरु गरेको बताए।
उनका अनुसार अहिले सैनामैनामा ८ ब्लकको नापजाँच गरिने भएको छ। जसअन्तर्गत करिब चार सय गाउँ ब्लक जग्गाधनीहरु रहेका छन्। पहिले नापी गर्दा छुट भएको कित्तालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ।