बिवादीत निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रयोगकर्ताको अनुमती बिना सेवा दिएर शुल्क लिएको पाइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले त्यसरी अनुमति बिना सेवा दिएर लिएको शुल्क फिर्ता गर्न निर्देशन दिने निर्णय समेत गरेको थियो। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले दूरसञ्चार प्राधिकरणको सो निर्णय शुक्रबार प्रमाणीकरण भएको जानकारी दिएका छन्।
प्राधिकरणले दिएको जानकारी अनुसार एनसेलले २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म एनसेलले स्वतः नवीकरण गरी ‘गेमलफ्ट’ र ‘हुवावे एप ग्यालरी’ नामक भ्यास सेवाबाट ग्राहकबाट करबाहेक १ अर्ब ११ करोड ३७ लाख आम्दनी गरेको पाइएको छ।
यस विषयमा प्राधिकरणले गत भदौ १९ गते पहिलोपटक र गत असार १७ गते दोश्रो पटक गरी दुई पटकसम्म एनसेलसँग स्पष्टीकरण मागिएको थियो । एनसेलले भने तेस्रो पक्षले प्रदान गर्ने सेवा भएकाले मोबाइलमा भएको ब्यालेन्स सेवा खरिद वापत भुक्तानीका लागि उपयोग गरिएको जवाफ दिएको थियो।
२०७५ असोज ६ गतपछि पूर्व स्वीकृति नलिई सेवा नवीकरण नगरिएको एनसेलको दावीलाई प्राधिकरणले भने सत्य नभएको ठहर गरेको छ। एनसेलले तीन महिनाभित्र गैरकानुनी रुपमा लिएको १ अर्ब ११ करोड रूपैयाँ ग्राहकको मोबाइलमा फिर्ता गर्नुपर्ने भएको छ। रकम फिर्ता भएको जानकारी प्राधिकरणलाई दिनुपर्नेछ।