प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन पुर्वराज्यमन्त्री सरोज कुमार सिंह कुशवाहाले सरकारी गाडीसँगै कुर्सी, टेबुलदेखि एसीसम्म फिर्ता नगरेको पाइएको छ ।
शुक्रबार नेपाली पब्लिकले सरकारी गाडि फिर्ता गरेनन् पुर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उनले प्रदेश सरकारले उपलव्ध गराएको हुण्डाई कम्पनीको प्र.२–०२–००१ ज ००६२ नम्बरको सेतो रङको भेन्यु गाडी फिर्ता नगरी दुरुपयोग गरिरहेका छन् ।
त्यसबारे बुझ्दै जाँदा पूर्व राज्यमन्त्री कुशवाहासरकारी गाडीसँगै कुर्सी, टेबुलदेखि कम्युटर, एसीसम्म फिर्ता नगरेको पाइएको हो ।
प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले कुशवाहालाई साउन १३ गते जिन्सी सामग्री फिर्ता गर्न आग्रह गरेको पत्र नेपाली पब्लिकले प्राप्त गरेको छ ।
जसमा एसी, सोफा, कम्युटर डेस्कटप, मोनिटर, ट्रेड विल, प्रिन्टर, ल्यापटप, मोटरसाइकल, सिमसहितको मोबाइल, गाडी धुने मेसिन, भ्याकुम क्लिनर, स्टिल कुर्सी र कम्युटर टेबल एक÷एक थान फिर्ता गर्न भनिएको छ ।
त्यस्तै, सीसी क्यामेरा सेट ५ थान, टी–टेबल ३ थान र १२ थान प्लाष्टिक कुर्सी अबिलम्ब फिर्ता गर्न भनिएको छ ।
कुशवाहालाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘तपाईं राज्यमन्त्री हुँदाका बखत देहाय बमोजिमका निजी सामग्रीहरु निजी सचिवालयको लागि मन्त्रालयले उपलब्ध गराएकोमा उक्त सामान फिर्ता गर्न पटक पटक मौखिक अनुरोध गर्दा पनि हालसम्म फिर्ता नभएकोले अविलम्ब फिर्ता गरी मन्त्रालयको काम कारवाहीमा सहयोग गरिदिन हुन सादर अनुरोध गरिएको छ ।’
पटक पटक मौखिक अनुरोध गर्दा थाकेको मन्त्रालयले साउन १३ गते अविलम्ब जिन्सी सामग्री फिर्ता गर्न भनेर पत्र पठाएको एक महिना पुग्न लागेको छ । तर पनि पूर्व राज्यमन्त्री कुशवाहा मन्त्रालयले गरेको पटक पटकको मौखिक र लिखित आग्रहलाई वेवास्था गर्दै सरकारी सम्पतिको दुरुपयोग गरिरहेका छन् ।
एक महिनाअघि गाडीसहित जिन्सी सामग्री फिर्ताका लागि पूर्व राज्यमन्त्री कुशवाहालाई पत्र काटेको मन्त्रालय अहिले मौन छ ।
हेर्नुस्, मन्त्रालयले कुशवाहालाई जिन्सी सामग्री फिर्ता गर्न लेखेको पत्र ।