नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू एमालेमै रहेको र माधव नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।
गौतम नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा गएको र मन्त्री बन्न लोगको समाचार पत्रपत्रिका र सामाजिक सञ्जालमा आएपछि उनको सचिवालयले त्यसको खण्डन गरेको छ ।
गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु गौतमको चरित्र हत्या गर्नुबाहेक केही नभएको खण्डनमा उल्लेख गरिएको छ ।
गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक रहेको गौतमको सचिवालयले भनेको छ । अन्य खाले प्रचार–प्रसारमा कुनै सत्यता नभएको जानकारी सचिवालयले गराएको छ ।
यसअघि गौतमले आफूनिकट नेता तथा कार्यकर्ताको भर्चुअल कार्यक्रममा आफू नेपालको पार्टीमा लाग्ने र त्यहीँबाट एकता अभियान थाल्ने बताएका थिए ।