तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी विभाजनमा साथ नदिएका नेकपा एमाले नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।
उनीहरू ओलीसँग पार्टी एकताका लागि निर्णायक छलफल गर्न सोमबार बिहान बालकोट पुगेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यलगायतका नेताहरूले ओलीसँग १० बुँदे सहमति कार्यान्वयका लागि निर्णायक वार्ता गरिरहेका हुन् ।
नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि यी नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष ओलीलाई बुधबारसम्मको अल्टिमेटम दिएका छन् ।
उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न ओलीसँग माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन् ।
बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ ।