साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा कोरोना भाइरस संक्रमण बढेको भन्दै साउन २३ गते स्थगित गरियो ।
त्यसपघि पनि एकपटक कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो । स्थगित परीक्षा कहिले हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । परीक्षा स्थगित गर्दा १५ दिनको सूचना दिएर कार्यतालिका प्रकाशन गर्ने भनिएको थियो । तर, परीक्षा गर्नेबारे केही तयारी गरिएको छैन ।
तर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । त्यसका लागि विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउनुपर्ने र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिनुपर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
अहिले स्वास्थ्य मन्त्रालयले नजिकको खोप केन्द्रमा कक्षा १२ का विद्यार्थीले कोरोना खोप लगाउन सक्ने व्यवस्था गरेको छ । जसअनुसार विद्यार्थीले खोप लगाइरहेका छन् ।
परीक्षा नियन्त्रक शर्माले पनि विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाएपछि दशैँ अगावै परीक्षा हुनसक्ने बताए ।
सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नहुने उनले बताए ।