भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त छन् ।
आइतबार अपराह्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चौथाइवालले भेट गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।
दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा महतले बताए । सहमहामन्त्री डा महतको निमन्त्रणामा चौथाइवाले नेपाल आएका हुन् ।
देउवापछि चौथाइवालेले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
सोमबार बिहान ओलीसँगपछि उनले दिउँसो नेता महन्थ ठाकुरलाई भेटेका छन् ।
उनले अन्य राजनीतिक दलको नेतासँग पनि भेट गर्ने बताइएको छ ।