आज भदौ ७ अर्थात् टीकापुर घटना घटेको दिन। छ वर्षअघि आजकै दिन कैलालीको टीकापुरमा थरुहट–थारुवान र अखण्ड सुदुरपश्चिमको आन्दोलन हिंसात्मक बन्दा प्रहरी र वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो।
यो घटनापछि त्यहाँ जस्तो माहोल सिर्जना भयो त्यो सम्झिँदा रञ्जीता चौधरीलाई लाग्छ– भदौ ७ कहिल्यै नआए हुन्थ्यो।
६ वर्षयता जसो जसो भदौ ७ गते नजिकिन्छ, उनको मन बेचैन हुनथालिहाल्छ, अमिलिन थालिहाल्छ। यस दिनको आगमनले उनको मन कति अमिलिन्छ भने उनलाई ६ वर्षअघिसम्म आफ्नो जीवनकै विशेष र सुन्दर लाग्ने भदौ ६ गतेको दिनलेसमेत खुसी बनाउन सक्दैन।
आजभन्दा २५ वर्ष, भदौ ६ गते उनी र रेशलले सँगै बाँच्ने–मर्ने कसम खाँदै वैवाहिक जीवनयात्रा सुरु गरेका थिए। प्रेम गरेकै मान्छेसँग आफ्नो विवाह भएपछि उनले त्यस दिन मनमनै सोचेकी थिइन्– म संसारकै भाग्यमानी मान्छे हुँ।
‘मलाई आजको दिन सम्झिनै मन लाग्दैन। भदौ ७ गते कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ। ७ मात्र होइन ८ गते पनि,’ रञ्जीताले नेपाली पब्लिकसँगको कुराकानीमा भनिन्, ‘धेरै व्यक्तिहरुले भदौ ७ गते मात्र सम्झिन्छन्, ८ गतेलाई कसैले सम्झिदैनन्। ८ गते त्यहाँका थारुहरुका लागि निकै कष्टकर थियो। थारुहरुको घर छानी छानी जलाइए। थारु चेलिबेटीहरुमाथि बलात्कार गरियो। यी विषयहरु कहिल्यै बाहिर आएनन्।’
उनले अगाडि थपिन्, ‘७ र ८ गतेमात्र होइन, पछिल्ला ६ वर्षमा थारु समुदायले विभिन्न खाले कष्टहरुको सामना गर्नुपर्यो। यी सम्पूर्ण घटनाहरुमाथि सरकार, मिडिया, मानव अधिकारलगायत सबैको ध्यानाकर्षण होस् भन्ने चाहन्छु।’
घटनाको दुई वर्षपछि २०७४ साल फागुन १४ गते जिल्ला अदालत कैलालीले रेशम चौधरीलगायत ८ जनालाई घटनाका मुख्य दोषी ठहर गरी जन्मकैदको सजाय सुनायो। तर, रञ्जीता भने घटना हुँदा रेशम कैलालीमै नभएको बताउँछिन्।
‘हो, घटना घट्यो, जे भयो नराम्रो भयो। यसलाई कसैले पनि नकार्न मिल्दैन। तर, यो घटना घट्दा उहाँ त्यहाँ हुनुहुँदैन्थ्यो। ७ गते बिहानसम्म उहाँ टीकापुरमै भएपनि घटनाको समयमा उहाँ बर्दियाको गुलरीयामा हुनुहुन्थ्यो,’ थारु सीमान्त समूदाय भएकै कारण राज्यसत्ताले आफूहरुमाथि अन्याय गरेको र नियोजित रुपमा रेशम लगायतलाई जेल चलान गरेको आरोप उनको छ।
कुनै समय आफूहरुमाथि अन्याय गर्ने राज्यबाटै अब भने आफूहरुले न्याय पाउनेमा उनको विश्वास छ। उनी आफूहरु वर्तमान सरकारप्रति एकदमै आशावादी भएका बताउँछिन्।
‘यसअघिको सरकारले चाहेको भए उहाँ अहिलेसम्म जेलमुक्त भइसक्नुहुन्थ्यो, तर उसले चाहेन,’ उनी आशा व्यक्त गर्छिन्, ‘उहाँ छुट्नुहोला भन्ने आशै आशामा ४ वर्ष बितिसके। जे होस्, यो सरकारबाट चाहिँ न्याय पाइन्छ र उहाँ कारागारमुक्त हुनुहुनेछ भन्ने पूर्ण आशा छ।’
रेशम पनि आफू छिट्टै जेलमुक्त हुनेमा विश्वस्त छन्। यति मात्र होइन, रेशम उनलाई चिन्तित नहुनसमेत भन्छन्। हरेक भेटमा रेशम उनलाई हाँस्दै सम्झाउँछन्– तिमी आफ्नो र बाबुको ख्याल गर्नु, मेरो चिन्ता लिनुपर्दैन।
रेशमको कुराले उनको मनमा आशाको दियो बल्छ।
रेशमको यही बानी अर्थात् कहिल्यै हतोत्साहित नहुने, जस्तोसुकै परिस्थितिको पनि सहज रुपमा सामना गर्नसक्ने, सबैभन्दा धेरै उनको समझदार व्यक्तित्व देखेर नै त हुन् रञ्जीता रेशमप्रति आकर्षित भएकी।
‘उहाँ कहिल्यै पनि निराश दिखिनुहुन्न, मुहारमा सधैँ मुस्कान झुन्डिरहन्छ। उहाँ मसँग जसरी बोल्नुहुन्छ, मलाई जे भन्नुहुन्छ, त्यो एउटा जेल जीवन बिताइरहेको मान्छेले बोलिरहेको जस्तो कदापि लाग्दैन,’ रञ्जीता हाँस्छिन्, ‘उहाँलाई भेटेर फर्किएपछि म उर्जै उर्जाले भरिन्छु।’
हिजोमात्र उनीहरुबीच भेट भएको थियो,वैवाहिक वर्षगाँठोको उत्सव मनाउन। उनीहरुले आफूहरु यहाँसम्म आइपुग्दासम्मको यात्राको समीक्षा गरे, सँगै सहयात्रा गरिदिएकोमा एकअर्काप्रति कृतज्ञ भए।
+++
आजभन्दा २५ वर्षअघि। कमलादीस्थिति प्रज्ञाप्रतिष्ठानमा बाल दिवसको अवसरमा आयोजित एउटा सांगीतिक कार्यक्रममा उहाँसँग मेरो पहिलोपटक भेट भएको हो। हाम्रो स्कुलले हामीलाई सांगीतिक कार्यक्रम देखाउन त्यहाँ लगेको थियो। म त्यतिबेला कक्षा ९ मा पढ्थेँ।
उहाँ रेडियो नेपालमा जागिरे हुनुहुन्थ्यो। रेडियो नेपालमा उहाँ संगीतकारको काम गर्नुहुन्थ्यो। त्यसदिन उहाँ पनि त्यहाँ आउनुभएको थियो। मलाई पनि सानैदेखि संगीतमा रुचि थियो। त्यसभेटमा हामीबीच संगीतबारे कुराकानी भयो। उहाँबाट धेरै कुरा सिक्न पाइयो।
हामीलाई संगीतले पछिसम्म जोडिरह्यो। संगीतप्रतिको उहाँको रुचिसँगै मलाई उहाँको बोली र व्यवहारले पनि खिँच्नथाल्यो। बिस्तारै हामीबीचको मित्रता प्रेममा र केही समयपछि विवाहमै परिणत भयो।
म नेवार समुदायबाट थिएँ भने उहाँ थारु समुदायबाट। हामीबीच जातको अन्तर थियो, तर हाम्रो मन मिलिसकेकाले त्यसले हामीलाई अलग्याउन सकेन। हाम्रो सम्बन्धलाई हामी दुवैको परिवारले स्वीकार्न पनि धेरै आनाकानी गरेन।
विवाह गरेकै वर्ष म उहाँको घर गएँ। त्यहाँ मैले थारुहरुको अवस्था निकै कमजोर देखेँ। थारुहरुमा न चेतना थियो, न कसैसित सम्पत्ति। थारु सोझो जाती रहेछ।
उहाँले थारुहरुमा सचेतना फैलाउने, उनीहरुलाई आफ्नो हक तथा अधिकारका लागि संघर्ष गर्न सिकाउने गरिरहनुभएको थियो। म उहाँको यस कामले अझै प्रभावित भएँ।
उहाँको घर गइसकेपछि म अझ ढुक्क भएँ– सधैँ समानताको पक्षमा उभिने एउटा चेतनशील मान्छेसँग विहे गरेछु। राम्रो मान्छेसँग विहे गरेछु।
+++
रेशमले बिनाकारण जेल जीवन बिताउनुपर्दा उनी दुःखी छिन्। निर्दोष श्रीमानलाई छुटाउन आफूले केही गर्न नसक्दा उनलाई साह्रै पीडाबोध हुन्छ।
रञ्जीता बेलाबेला आफूले रेशमसँग बिताएका स्वर्णिम समयहरु सम्झिँदै ‘नोस्टालजिक’ हुुन्छिन्। भावुक हुन्छिन्। उनी कल्पिल्छिन्, रेशम आफ्नो समीपमा भएको, उनीसँग मीठामीठा कुरा गरेको, किन मलाई यत्रो समय एक्लै छाडेको? भन्दै गुनासो गरेको, रिसाएको आदिआदि।
तर, उनी एकैछिनमा भावुकता र रोमाञ्चकताको संसारबाट बाहिर निस्किहाल्छिन् र आफूले आफैँलाई सम्झाउँदै भन्छिन्– न्यायको लडाइँ लामो हुन्छ, लाखौँको स्वतन्त्रताका निम्ति केही मान्छेहरुले आफ्नो स्वतन्त्रताको आहुति दिनुपर्छ।
‘एक श्रीमती र आमाको रुपमा म उहाँलाई एकदमै मिस गर्छु, दुखी हुन्छ,’ उनी मुस्कुराउँछिन्, ‘तर, एक सचेत र न्यायप्रेमी मानवको रुपमा म उहाँ जेलमा भएको कुराले दुखी छैन। बरु उहाँ जे कारणले जेलमा हुनुहुन्छ, त्यसले मलाई गर्वको महसुस हुन्छ। म गर्वसाथ भन्न सक्छु– मेरो श्रीमानले सदियौँदेखि दलनमा परेका समुदायको हक–हितका लागि आवाज उठाउनुभयो।’
यो कुरा अब आफ्ना १२ वर्षीय छोराले पनि बुझिसकेको उनी बताउँछिन्। उनी भन्छिन्– उहाँ जेल जाँदा बाबु ८ वर्षका थिए, त्योबेला उनले बाबुलाई खोज्थे, तर अहिले खोज्दैनन्। मलाई लाग्छ उनले न्यायको लडाइँ कहिलेकाहीँ लामो हुन्छ भन्ने कुरा बुझिसके।’
रेशम चौधरी विगत चार वर्षदेखि काठमाडौंस्थित डिल्लीबजार कारावासमा बन्दी जीवन बिताइरहेका छन्। उनको रिहाइका लागि अहिले देशभर आवाज उठिरहेका छन्।
कैलालीको टीकापुरमा थरुहट-थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा थारुहट–थारुवान राष्ट्रिय मुक्ति मोर्चाले भोलि भदौ ८ गते काठमाडौंको बसन्तपुरमा विरोधसभा गर्दै छ।
यसै अवसरमा गत साता मोर्चाले माइतीघर मण्डलमा मंगलबारदेखि बिहीबारसम्म तीन दिने विरोध प्रदर्शन गरेको थियो।
यसै क्रममा आज थारुहट–थारुवानले कैलालीको लम्कीमा पनि शान्तिपूर्ण प्रदर्शन गर्यो।