नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।
उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा सुनुवाइ हुँदैछ ।
घिसिङको नियुक्ति बदर गर्न माग गर्दै तत्कालीन प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
शाक्यले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै घिसिङको नियुक्ति बदर र आफ्नो पुनर्वहालीको माग रिटमा गरेका छन् । त्यसका लागि उनले अन्तरिम आदेश माग गरेका छन् ।
कार्यकारी निर्देशकबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनको दावी छ ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।
शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरेर सरकारले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो ।