नेकपा (एमाले) स्थायी कमिटीको बैठक सुरु भएको छ ।
स्थायी कमिटीको बैठक दिउँसो ३ बजेपछि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हो ।
पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि पनि बैठकमा सहभागी छन् ।
सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारकास्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।
एमालेलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । उक्त प्रस्ताव मंगलबारको स्थायी कमिटी बैठकमा पेश हुनेछ ।
आजको बैठकपछि एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कनेछन् । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुनेछन् ।