मिथिला बिहारी नगरपालिका ५ ललियाका ३० वर्षीय भागेश्वर मण्डलले बुवा ५५ वर्षीय रामवृक्ष र श्रीमती २४ वर्षीया अम्रिकादेवीको हत्या गरेका छन् ।
दुबै जनाको शव घर नजिक रामकिसुन मण्डलको आँप बगैँचामा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको छ । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको हो ।
मृतक दुबै जनाको टाउकोमा गहिरो चोट देखिएको छ । दुबै जनालाई लौरोले टाउकोमा प्रहार गरी डोरीले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए ।
सोमबार रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजविन भएपछि आँप बगैँचामा रगतको छिटा देखिएको थियो । दुवैको हत्या भएको हुनसक्ने अनुमान गरेर थप खोजतलास गर्दै जाँदा बगैँचाको दक्षिण कुनामा भर्खँरै माटो खनिएको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेको हत्या अभियोगमा पक्राउ परेका भागेश्वरको काका चन्द्रहँस मण्डलले बताए ।
खाल्डो भेटिएपछि भागेश्वर अस्वाभाविक गतिविधि देखाउन थालेकाले शङ्का लागेर सोधपुछ गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेपछि प्रहरीमा बुझाएका थिए ।
उनी दुवैको हत्या गरी खाल्डोमा पुरेर गाउँमा गएर बुबा र श्रीमती बेपत्ता भएको हल्ला गरेपछि गाउँले तथा आफन्तसँगै खोज्न हिँडेका थिए ।
काका मण्डलकाअनुसार भागेश्वर सात महिना अघि वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो ।
यसै बिषयमा सोमबार दिउँसो र साँझ उनीहरुबीच विवाद भएको थियो । सात बर्षअघि भागेश्वर र अम्रिकाबीच विवाह भएको थियो । विवाहको केहीदिनदेखि नै भागेश्वर श्रीमतीप्रति शंकालु बनेका थिए ।
एक आफन्त भन्छन्, ‘माइती तथा आफन्तसँग फोनमा कुरा गर्दा पनि कुन नाठोसँग कुराको गरेको भन्दै कुटपिट गर्थे । वैदेशिक रोजगारीमा हुँदा पनि श्रीमतीले एकछिन फोन ढिलो उठाउँदा कोसँग मस्किएर बसेको थिइस् भन्दै अपशब्द भन्थ्यो ।’
उनी पछिल्लो पटक वैदेशिक रोजगारीबाट एक महिनामै घर फिरेका थिए । २४ घण्टा गाँजा सेवन गर्ने भागेश्वर शव भेटिएको स्थानमा पनि नसामा लठठ् थिए । भागेश्वर र अम्रिकादेवीका एक छोरा र एक छोरी छन् ।