प्रदेश नम्बर २ का आन्तरिक मामिला एवम् सञ्चारमन्त्री भरत प्रसाद शाहले लामो समयदेखी बन्द रहेको जनकपुर चुरोट कारखानामा रहेको छापाखानालाई सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिवद्दता जनाएका छन्।
हाल मुख्यमन्त्रीको कार्यालय रहेकै स्थानमा रहेको छापाखानाको मगंलबार स्थलगत अनुगमन गर्न पुगेका मन्त्री शाहले सो छापाखानालाई प्रदेश छापाखानाको रुपमा सञ्चालन गर्न सकिने विचार राखे। ‘प्रदेश सरकारले वर्षेनी करोडौँ रुपैयाँको छपाई गर्छ,’ उनले भने, ‘यसलाई सरकारको आफ्नै छापाखानाको रुपमा सञ्चालन गर्न सकिन्छ।’
मन्त्री शाहले उद्योग मत्रालयसँग यसबारे सल्लाह गरेर आवश्यक प्रकृया अघि बढाउने पनि बताए। अनुगमनका क्रममा त्यहाँ कार्यरत कर्मचारीहरुले मन्त्री शाहलाई छापखानाको बारेमा जानकारी दिएका थिए।
यो छापाखाना जनकपुर चुरोट कारखाना सञ्चालनमा रहँदा कारखानाको लागि चुरोटका डब्बालगायत अन्य सामग्रीहरु छपाईँको लागि प्रयोग हुने गर्दथ्यो।