पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार १५ हजार २९० नमुना परीक्षण गरिएको थियो ।
अहिले सङ्क्रमण पुष्टि हुने दर १९.२ प्रतिशत भएको देखिन्छ । अहिले कर्णाली प्रदेशमा सङ्क्रमण पुष्टि हुने दर सबैभन्दा धेरै ४६ प्रतिशत रहेको छ ।
योसँगै कुल संक्रमितको संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । जसमध्ये ३८ हजार २८७ सक्रिय संक्रमित छन् । तीमध्ये ३५,२५० जना घरमा र बाँकी संस्थागत आइसोलेशनमा छन् ।
बुधबार १७८१ जना निको भएका छन् । हाल कुल संक्रमितको ९३.५ प्रतिशत निको भएका छन् ।
यसअघि शनिबारदेखि सोमबारसम्म संक्रमित भन्दा निको हुनेको संख्या बढी थियो । तर, सोमबारदेखि फेरि संक्रमित बढ्न थालेका हुन् ।
त्यस्तै सो अवधिमा संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।
सङ्क्रमितमध्ये अहिले ६१० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा छन् । तीमध्ये १६१ जना भेन्टिलेटरमा छन् । अहिले २० वटा जिल्ला प्रत्येकमा ५०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
बुधबार काठमाडौं उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या मङ्गलवार अपराह्णसम्म ३९ लाख नाघेको छ भने साढे ४९ लाखभन्दा केही बढीले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।