नियम मिचेर दिइएको कर्जाबारे राष्ट्र बैंक र केन्द्रिय अनुसन्धान व्युरोले अनुसन्धान थालेपछी गोर्खाज फाइनान्स लिमिटेडका निर्देशकहरुले राजनीतिक दवाव सृजना गर्ने प्रयास शुरु गरेका छन्।
राष्ट्र बैंकको नियमविपरित बिनाधितो ३ करोड रुपैयाँ कर्जा दिएपछी गोर्खाज फाइनान्ससँग राष्ट्र बैंकले उक्त कर्जाको फाइल मगाएको थियो। ‘फाइनान्सका निर्देशकमध्ये एकजना राष्ट्र बैंककै पुर्व कर्मचारी हुनुहुँदो रहेछ,’ राष्ट्र बैंक श्रोतले भन्यो, ‘केहि राजनीतिक दलमार्फत अनुसन्धान फितलो बनाउन दबाब दिने प्रयास भइरहेको छ।’
केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवम् प्रहरी उपरिक्षक श्याम कुमार महतोले भने यसबारेमा आफुँलाई जानकारी नभएको प्रतिकृया दिए। नेपाली पब्लिकसँग उनले भने, ‘कानुनी रुपमा तल देखिएपछी कम्तीमा सिआईबीमा चाँहि कुनै दबाबले काम गर्दैन। यो केसमा चाँहि प्रकृया पुर्याएर नै कर्जा दिइएको पाइएकोले थप कारबाही भएन।’
गोर्खाजका सह–महाप्रवन्धक घिमिरेले राजनीतिक दबाब दिइएको भन्ने कुरा अस्विकार गरे। ‘यो खासै ठुलो कुरा नै होइन,’ उनले भने, ‘कर्जा चुक्ता भइसकेको छ। हामीले कहिकतै दबाब दिने प्रयास गरेका छैनौ।’
२०७८ असार ११ गते शुक्रबार नियम मिचेर ताराचन्द्र बजगाईंको नाममा ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेपछि गोर्खाजको केन्द्रीय कार्यालय विवादमा मुछिएको हो। नियम मिचेर गैरकानुनी रुपमा ३ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको जानकारी पाएपछि गोर्खाजलाई नेपाल राष्ट्र बैंक र सिआइबीले समेत चिठी काटेर सो कर्जाको फाइल मगाएको थियाे।
राष्ट्र बैंकको नियमअनुसार क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाले धितो राखेर नै ५० लाख रुपैयाँभन्दा बढी रकम व्यक्तिगत कर्जाको रुपमा प्रवाह गर्न मिल्दैन। यस्तै बिनाधितो १५ लाखसम्म मात्र कर्जा प्रवाह गर्न मिल्छ।
त्यसको लागि पनि सञ्चालक समितिको कार्यविधी नै बनेको हुन्छ। त्यही कार्यविधिमा उल्लेख भएका कागजातहरुको आधारमा मात्र कर्जा प्रवाह गर्नुपर्ने हुन्छ।