जब जब गायिका विष्णु माझी नयाँ गीत लिएर आउँछिन्, तब उनी चर्चाको शिखरमा पुगिहाल्छिन्। उनको गीतको सबैतिर चर्चामात्र हुँदैन, उनको गीत सर्वाधिक विक्री हुने र हेरिने गीतको सूचीमा पनि पर्छ। जमाना रिलवाला क्यासेटको होस् या अहिलेको डिजिटल प्लेटफर्मको, उनी छाइरहेकै थिइन्, छाइरहेकै छिन्।
अहिले पनि उनी आफ्नो एउटा गीतको कारण चर्चामा छिन्। लामो समयपछि ‘चरी जेलैमा’ बोलको नयाँ गीत लिएर आएपछि उनको गीतले यतिबेला युट्युबमा तहल्का पिटिरहेको छ। ६ दिनअघि मात्र सार्वजनिक भएको यो गीत यति छोटो समयमै युट्युबमा ४० लाखभन्दा धेरै पटक हेरिएको छ। गीत रिलिज भएको छैटौँ दिन २४ घन्टाभित्रै १० लाख बढी भ्युज पाएर यो गीत टिकटकमा एकदमै भाइरल छ।
तर, पछिल्लो समय उनको चर्चा गीतकै कारणले मात्र भइरहेको छैन। यतिबेला उनको चर्चा एउटा अर्को कारणले पनि भइरहेको छ। कारण हो, उनी लामो समयसम्म गुमनाम हुनु। महिनैपिच्छे गीत निकाल्ने उनी एकैचोटी तीन वर्षपछि देखिएपछि उनको पछिल्लो समय व्यापक खोजी भइरहेको छ। यो खोजी उनको गीत आइसकेपछि पनि रोकिएको छैन।
सामाजिक सञ्जालमा उनका शुभचिन्तकहरुले उनी यत्रो समय कहाँ हराइन्, किन हराइन्? भन्दै जिज्ञासा राखिरहेका छन्। यतिमात्र होइन, कतिपयले त उनलाई उनका श्रीमानले बन्धक बनाएर राखिरहेको र उनी सुरक्षित नभएको आशंकासमेत गरिरहेका छन्।
किनभने उनी यसरी गायब भएको यो पहिलोपटक पटक नहुनु। उनी यसअघि पनि थुप्रैपल्ट यसरी नै गायब भएकी थिइन् र उनका यसरी नै खोजी नीती भएको थियो।
एउटा आश्चर्यको कुरा के भने जब जब उनको सोधिखोजी उत्कर्षमा पुग्छ, उनी यसै बेला गीत लिएर टुप्लुक्क देखा पर्छिन्।
यसपालि पनि यस्तै भएको छ। उनको व्यापक खोजी भइरहेकै बेला उनी गीत लिएर आएकी छन्। तीजलाई सन्दर्भ बनाएर निकालिएको यो गीतमा पोइली घरमा कष्टपूर्ण जीवन व्यतित गरिरहेकी एक छोरीको कथा समेटिएको छ। उनी बेलाबेला आफ्नो माइती घर सम्झिन्छिन् र भावुक हुन्छिन्। उनी आफ्नो वेदना र विरह गीतमार्फत व्यक्ति गर्छिन्।
‘सपना म्युजिक इन्ड्रटिज’ को ब्यानरमा निर्मित र यसै कम्पनीको युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीतमा उनकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द–संगीत रहेको छ।
गीत व्यापक हिट भइरहँदा केहीले भने गीतको मर्मलाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका छन्। गीतको मर्मलाई लिएर बहस छेडिएको छ। यद्धपी गीत उत्पादक कम्पनीले भने भिडियोको सुरुमै गीतमा देखाइएका पात्रहरु सबै काल्पनिक भएको र कसैसँग मेल खान गए त्यो संयोग मात्र हुने भन्दै स्पष्टिकरण दिएको छ।
जे होस्, उनी जब जब गीत लिएर आउँछिन्, उनको चर्चाको शिखर चुलिहाल्छ।
हेर्नुहोस् गीतको भिडियोः